काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले मुलुकमा आन्दोलन र द्वन्द्वको राजनीतिक संस्कृतिको प्रभाव संसदभित्र पनि देखिएको टिप्पणी गरे।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि समेत निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे। उनले संसद लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।
उनले भने, “अब यो सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यहाँ ल्याउनका लागि पनि आन्दोलन गर्दै आएको मान्छे हुँ। यो आन्दोलन, झैझगडा, आगजनी, कुटपिट र काटमारको इतिहास बोकेको देश हो। त्यसको प्रभाव हाम्रो सदनभित्र पनि देखिएको छ। सायद हामी त्यही संस्कृतिबाट हुर्किएर आएका हौँ।”
साम्पाङले नेपालको सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गम्भीर त्रुटिपूर्ण भएको दाबी गर्दै त्यसबारे संसदमा स्पष्ट जवाफ दिन प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे।





















