काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।
शीर्ष नेताहरू एउटै मञ्चमा देखिए पनि पार्टीको तल्लो तहसम्म अझै पुरानै संरचना कायम रहँदा कार्यकर्तामाझ असन्तुष्टि बढ्न थालेको छ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वमा बनेको नेकपाले २५ वटा समूह समेटिएको दाबी गरे पनि अधिकांश संगठनमा अहिले पनि तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीकै अलग अभ्यास चलिरहेको छ।
२५ सय सदस्यीय ‘विशाल कमिटी’, बैठकै बस्न गाह्रो
पार्टी एकतापछि बनाइएको केन्द्रीय कमिटी नै यति ठूलो छ कि बैठक गर्नसमेत कठिन हुने अवस्था देखिएको छ। करिब २३ सय सदस्यबाट सुरु गरिएको केन्द्रीय कमिटी २५ सयसम्म पुर्याउने निर्णय गरिएको थियो।
यही कारण पार्टीले निर्णय लिन छुट्टै ‘केन्द्रीय कार्य संयोजन समिति’ बनाएको छ। अहिले पार्टीका अधिकांश औपचारिक निर्णय यही समितिबाट भइरहेका छन्।
तल्लो तहमा अझै पुरानै पार्टी
प्रदेशदेखि वडा तहसम्म समायोजन नटुंगिँदा कार्यकर्ताहरू अन्योलमा छन्। विद्यार्थी, युवा र मजदुर संगठनहरू अझै अलग–अलग ब्यानरमा कार्यक्रम गरिरहेका छन्।
केन्द्रीय सदस्य ओसिम आलमले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै “माथि मात्रै नेकपा, तल सबै पुरानै पार्टी” भएको टिप्पणी गरेका छन्।
विद्यार्थी संगठनमा पनि तत्कालीन माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियू छुट्टाछुट्टै रूपमा सक्रिय छन्।
महाधिवेशन घोषणा, तर समायोजन अलपत्र
पार्टीले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। असारदेखि सदस्यता नवीकरण अभियान सुरु गर्ने योजना पनि छ।
तर जेठभित्र संगठन समायोजन सक्ने निर्णय भए पनि हालसम्म कुनै जनसंगठन वा भूगोलको संरचना पूर्ण रूपमा एकीकृत हुन सकेको छैन।
पार्टी कार्यालयका नेताहरूले “छलफल भइरहेको” दाबी गरे पनि कार्यकर्ताहरू भने नेतृत्व समायोजनभन्दा फेरि अर्को राजनीतिक समीकरणतर्फ केन्द्रित भएको आरोप लगाउन थालेका छन्।
निर्वाचनमा कमजोर प्रदर्शनपछि समेत संगठन पुनर्संरचना अघि बढ्न नसक्दा नेकपाको एकता व्यवहारमा भन्दा घोषणामै सीमित भएको टिप्पणी हुन थालेको छ।





















