काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहकारी पीडितको साझा कथाजस्तै बनेको छ ।
काठमाडौंका विभिन्न ठाउँमा शाखा खोलेर सर्वसाधारणबाट करोडौँ बचत उठाएको खुसी सहकारी अहिले बन्द छ । सञ्चालकहरू सम्पर्कविहीन छन् । बचतकर्ताहरू चार वर्षदेखि आफ्नै पैसा फिर्ता पाउन सरकारी कार्यालय धाइरहेका छन् ।
सहकारी विभागका अनुसार संस्थामा करिब २७ करोड रुपैयाँ बचत थियो । हालसम्म करिब ९ करोड रुपैयाँ दाबी गर्दै बचतकर्ताहरूले सहकारी प्राधिकरणमा निवेदन दिएका छन् । तर रकम फिर्ता हुने कुनै संकेत देखिएको छैन ।
पीडितहरूका अनुसार सहकारीका मुख्य सञ्चालक अभय घिमिरेसहित मातृका, ज्ञानेन्द्र र सुबोध घिमिरे एकै परिवारका दाजुभाइ हुन् । उनीहरू रकम अपचलनपछि फरार भएका छन् । बचतकर्ताको आरोप छ— सञ्चालकहरूले पैसा मात्रै होइन, प्रमाणसमेत गायब बनाएका छन् ।
कतिपय बचतकर्ताको पासबुक छैन । कतिपयको मुद्दती निक्षेपको प्रमाणपत्र नै सञ्चालकले “नवीकरण” को बहानामा लगेपछि फर्काएनन् । सुशील थापाले १९ लाख रुपैयाँ मुद्दती खातामा राखेका थिए । अहिले उनीसँग रकम दाबी गर्ने प्रमाण नै छैन । “प्रमाणपत्र उनीहरूले लगे, फिर्ता दिएनन्, अब नष्ट गरिसके जस्तो छ,” उनी भन्छन् ।
खिचापोखरीमा प्रधान कार्यालय रहेको खुसी सहकारीले कालीमाटी, चाबहिल र गंगबुमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो । अहिले सबै कार्यालय बन्द छन् । कार्यालयको भाडासमेत नतिरेको पीडितहरूको भनाइ छ । प्रधान कार्यालयको मात्रै करिब एक करोड रुपैयाँ भाडा बाँकी रहेको दाबी गरिएको छ ।
पीडित राधा महर्जनका अनुसार संस्थाबाट ऋण लिएका धेरै ऋणी पनि सम्पर्कविहीन छन् । “८० जना जति ऋणी नै भागिसके,” उनी भन्छिन् । उनको आफ्नै १८ लाख रुपैयाँ सहकारीमा अड्किएको छ । सबैभन्दा पीडादायी अवस्था साना बचतकर्ताको छ । कालीमाटी शाखामा मजदुरी गर्ने, कवाडी संकलन गरेर पैसा बचत गर्नेहरूले रकम राखेका थिए । अहिले बिहान–साँझ “हाम्रो पैसा कहिले आउँछ ?” भनेर सोध्नेहरू बढिरहेका छन् ।
पीडितहरूले संघर्ष समिति बनाएर प्रहरी, सहकारी नियमन प्राधिकरण र मन्त्रालय धाइरहेका छन् । तर सहकारी अझै समस्याग्रस्त घोषणा भएको छैन । यही विषयले बचतकर्तामा थप आक्रोश बढेको छ । “संस्था बन्द छ, सञ्चालक फरार छन्, प्रमाण गायब छन् । यति हुँदा पनि समस्याग्रस्त घोषणा नहुनु अचम्म हो,” पीडितहरू भन्छन् ।
सहकारीमा बचत राख्ने धेरैले भविष्य सुरक्षित होला भनेर विश्वास गरेका थिए । अहिले त्यही विश्वास कागजसँगै गायब भएको छ ।





















