काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले बुद्धले देखाएको मार्ग दु:ख निवारणको बाटो भएको उल्लेख गरेका छन्। बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै उनले भने, “दु:ख छ, दु:खको कारण छ, दु:खको निवारण छ र दु:ख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यही ज्ञानको उज्यालोतर्फ र समस्या समाधानको दिशामा केन्द्रित हुनुपर्छ।”
उनले अँध्यारोलाई उज्यालोको अभावका रूपमा व्याख्या गर्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्। “उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वत: हट्छ,” उनले भने।
शाहले बुद्धको जन्मले नेपाललाई सधैं अहिंसा र शान्तिको पक्षधर राष्ट्रका रूपमा चिनाएको पनि उल्लेख गरेका छन्। साथै, उनले परम्परागत क्रान्तिको भाष्यलाई नयाँ ढंगले प्रस्तुत गर्दै “साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ,” भन्ने विचार व्यक्त गरेका छन्।
के छ प्रधानमन्त्री शाहको सन्देशमाः
बुद्धले भन्नुभयो- “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।





















