काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आगामी आईजीपी बनाउने निर्णय गरेको हो। उनी हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन्।
सरकारी निर्णय अनुसार पौडेलले यही १८ वैशाखपछि औपचारिक रूपमा आईजीपीको कमाण्ड सम्हाल्ने छन्।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी १८ वैशाखमा अवकाशमा जाने भएपछि नयाँ नेतृत्व चयन गरिएको हो।
सरकारले कार्यकाल पूरा हुनुअघि नै उत्तराधिकारी टुंग्याएर सशस्त्र प्रहरीको नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउने निर्णय गरेको हो।





















