काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर्णय गर्दै महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन्।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ भने डा. चुमनलाल दासलाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा सरुवा गरेसँगै मन्त्रालयको समन्वय महाशाखा प्रमुख यशोदा अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। यस अघि नै स्वास्थ्य तालिम केन्द्रमा डा. प्रकाश साहलाई जिम्मेवारी दिइएको छ।
यस्तै मन्त्रालयको नीति योजना महाशाखामा १०औं तहमा कार्यरत डा. पुष्पराज पौडेललाई पनि नरदेवी अस्पतालमा काज फिर्ता गरिएको छ।





















