काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले उद्योग सञ्चालन गर्न कठिन हुँदै गएको उल्लेख गर्दै हालको अवस्थामा मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको छ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ—जस्तै बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारका क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्य वृद्धिले ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढाएको छ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत मूल्य वृद्धिको प्रमुख कारणका रूपमा लिइएको छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वले अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा असर पार्दा कच्चा पदार्थको मूल्य र उपलब्धता प्रभावित भएको महासंघको ठहर छ।
हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले लागत वृद्धिका कारण उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “यो निर्णय नाफा कमाउने उद्देश्यले होइन, बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्य वृद्धिका कारण सिर्जिएको बाध्यात्मक अवस्था हो। हालको मूल्यमा पानी बिक्री गरेर उद्योग सञ्चालन सम्भव छैन।”
महासंघले सदस्य उद्योगीहरूलाई लागत वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ।
साथै, सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहलमार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रण गर्न आवश्यक कदम चाल्न माग गरेको छ।
उपभोक्ता, वितरक र सरोकारवालालाई उद्योग संरक्षण, रोजगारीको सुरक्षा र सेवाको निरन्तरताका लागि मूल्य समायोजनमा सहयोग गर्न पनि महासंघले आग्रह गरेको छ।





















