काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा निर्धारणरसमायोजन सिफारिस समितिको बैठकले काठमाडौं उपत्यकामा न्यूनतम भाडादरमा २५.९६ प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो।
हाल उपत्यकामा ०–५ किलोमिटरसम्मको न्यूनतम भाडा १९ रुपैयाँ रहेको छ। प्रस्तावित वृद्धि अनुसार यो भाडा बढेर २३.९३ रुपैयाँ पुग्नेछ। प्रदेश यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार भाडादर समायोजनका लागि सिफारिस गरिसकिएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ काठमाडौंमै रहेकाले भाडादर स्वीकृत गराउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ। निजी सचिव भक्त भण्डारीका अनुसार स्वीकृतिपछि भाडादर कार्यान्वयनमा ल्याइनेछ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव भुवन न्यौपानेले भाडादर स्वीकृत भएपछि प्रदेश राजपत्रमा प्रकाशनका लागि तयारी अवस्थामा रहन निर्देशन प्राप्त भएको जानकारी दिए।
यस अघि काठमाडौंमा ७ भदौ २०८० मा भाडा समायोजन गरिएको थियो। नयाँ सिफारिस अनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा १२.३९ प्रतिशतले बढ्नेछ। काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीमा १७.३५ प्रतिशत वृद्धि हुनेछ भने मालवाहक सवारीमा २६।७९ प्रतिशत भाडा बढ्नेछ।
यद्यपि, बागमती प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीसाधनको भाडा भने १ वैशाख २०७९ मा निर्धारण गरिएको दरमै कायम रहनेछ।





















