काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका छन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, “सुरक्षा चुक हुन नदिन संगठन प्रमुखबाट स्पष्ट निर्देशन भएको छ।” प्रहरी प्रधान कार्यालयले जवानदेखि एसपीसम्मलाई केन्द्र र जिल्लामा स्ट्यान्डबाई बस्न सर्कुलर जारी गरेको छ। त्यस्तै, प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ।
जिल्लामा गस्ती र रणनीतिक परिचालन बढाउन जिल्ला प्रमुखहरूलाई निर्देशन दिइएको छ।सशस्त्र प्रहरीले पनि आफ्ना सुरक्षाकर्मीलाई भिड नियन्त्रणको तयारीसहित स्ट्यान्डबाईमा राखेको छ।
भदौ २३–२४ को घटनाबारे आयोगको सिफारिसपछि ओली र लेखक पक्राउ भएपछि नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले काठमाडौँसहितका ठाउँमा विरोध प्रदर्शन गरेका थिए।
यसलाई ध्यानमा राख्दै गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरी सम्भावित परिस्थितिका लागि रणनीति तयार गरेका थिए।
छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकृतले भने, “अपेक्षाकृत कमजोर प्रदर्शन भएको हाम्रो निष्कर्ष हो।” प्रदर्शनका कारण काठमाडौँसहित २१ ठाउँमा उच्च सतर्कता अपनाइएको छ। काठमाडौंको बबरमहलमा ७ प्रदर्शनकारी पक्राउ भई अनुसन्धान भइरहेको छ।
























