काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका बिरामी भएकाले सुरुआतमा उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर निगरानीमा राखिएको थियो ।
त्यहाँ नेफ्रोलोजी टोलीका डा। रविन नेपालीसहितको चिकित्सक समूहले उनको स्वास्थ्य परीक्षण गरेको थियो । साथै मुटुसम्बन्धी चिकित्सकहरूले पनि उनको जाँच गरेका थिए ।
अस्पताल स्रोतका अनुसार रगत परीक्षण, भिडियो एक्स–रेलगायतका आवश्यक परीक्षणपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा सारेर भर्ना गरिएको हो । सो भवनमा लैजाँदा उनलाई गाडीमार्फत सारिएको थियो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।





















