काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाका सांसद बनेपछि उनलाई सम्भावित मन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। कतिपय वृत्तमा उनको आकांक्षा गृहमन्त्री पदमा रहेको दाबीसमेत गरिएको छ।
सपथग्रहणका लागि जाँदै गर्दा सञ्चारकर्मीले यही विषयमा प्रश्न गरेका थिए। “तपाईं गृहमन्त्री बन्ने हल्ला के हो ?” भन्ने प्रश्नमा गुरुङले आफू मन्त्री बन्ने दौडमा नरहेको बताए।
“म मन्त्री बन्ने दौडमा पहिले पनि थिइनँ, अहिले पनि छैन। पार्टीले योग्य ठाने दिनुहुन्छ। नदिए पनि आफ्नो कर्तव्य पालना गर्नुपर्छ,” उनले भने। गुरुङले आगामी सरकारले जेनजी आन्दोलनका मुद्दा अघि बढाउने विश्वास व्यक्त गरे। कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने उनको धारणा थियो।
“कार्की आयोगको प्रतिवेदन सबैले पढेको छैन। औपचारिक रूपमा प्रकाशन गर्नुपर्छ। त्यसपछि कार्यान्वयनको कुरा आउँछ,” उनले भने।
सरकारले सार्वजनिक गर्नुअघि सञ्चारमाध्यममार्फत प्रतिवेदन बाहिरिनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए। “यसलाई सकारात्मक रूपमा लिनुपर्छ। निस्किनैपर्ने कुरा हो। सत्यतथ्य आउँदा राम्रो नै हो। प्रतिवेदन पूरा पढेर रिपोर्टिङ गर्न पत्रकारहरूलाई सुझाव दिन्छु। हेडलाइन बिगारेर हुँदैन,” उनले भने।
चीनविरोधी गतिविधिमा संलग्न रहेको भन्दै ‘जनआस्था’ साप्ताहिकले लेखेको विषयमा सोधिएको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, “हो र ? उहाँहरूको आस्था केमा छ, त्यसमा भर पर्छ।”





















