काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् सचिवालयले संसदीय दलका कार्यालयहरू पनि साटफेर गरेको छ ।
सचिवालयले अघिल्लो प्रतिनिधिसभामा दलहरूले प्रयोग गर्दै आएका कार्यालयहरूलाई नै आधार मानेर हैसियतअनुसार पुन: व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
यस क्रममा विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच संसदीय दलका कार्यालय साटफेर गरिएको छ । अघिल्लो संसदमा तेस्रो ठुलो दल रहेको नेकपा यसपटक चौथो स्थानमा झरेको छ भने रास्वपा पहिलो दल बनेर उदाएको छ ।
यसअनुसार नेकपाले प्रयोग गर्दै आएको ठूलो भवन अब रास्वपाले प्रयोग गर्नेछ । अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको भवनमा भने नेकपासहित अन्य साना दलहरूको व्यवस्थापन गरिएको छ ।
उक्त भवनमा अब नेकपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका संसदीय दल पनि रहनेछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलका कार्यालय भने यथावत् स्थानमै रहनेछन् ।





















