भरतपुर – चितवनका पत्रकारहरुलाई कर (ट्याक्स) र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि तालिम दिइएको छ । चितवन उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ चितवन शाखाको संयुक्त आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । पत्रकारहरुलाई सिए विकास तिवारी र विमन कार्कीले प्रशिक्षण दिएका थिए ।
तालिमको उद्घाटन गर्दै आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख पुण्यविक्रम खड्काले समाचार लेख्ने क्रममा हुनसक्ने त्रुटि सच्याउन तालिम प्रभावकारी हुने बताए । उनले भने ‘उच्च राजस्व बृद्धिदर र विकास निर्माणको लागि चाहिने स्रोत साधनको व्यवस्थापनका निम्ति पत्रकारहरुको कलमले सहयोग पुग्ने विश्वास लिएका छौँ’, ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले ट्याक्स र भ्याट सम्बन्धि तालिमलाई पत्रकारहरुलाई समाचार लेख्न सहज हुने विश्वास व्यक्त गरे । तालिमले समग्र चितवनको पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने भन्दै उनले आर्थिक समाचार लेख्न रुचाउने पत्रकारलाई राजस्व सम्बन्धि ज्ञानले निखार्ने बताए ।
चितवन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् तालिम संयोजक विष्णु लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली, महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी लगायत सहभागी थिए ।
आईतबार भएको तालिममा उपस्थित पत्रकारहरुले यो तालिम फलदायिक भएको बताएका थिए ।

























