काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभोक्ताको अनावश्यक सञ्चयका कारण भएको जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हाल भारतबाट मागअनुसार ग्यास आयात भइरहेको छ र उद्योगहरूले पनि बजारको आवश्यकता अनुसार सिलिन्डर पठाइरहेका छन् । तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि आपूर्ति प्रणालीमा देखिएको समस्या समाधान गर्न कदम चालिएको उनले बताए ।
निगमले अब ग्यास बिक्रेतालाई उद्योगबाट प्राप्त परिमाण र बिक्री–वितरणको स्पष्ट विवरण अनिवार्य रूपमा राख्न तथा बुझाउन निर्देशन दिएको छ । “उद्योगले पठाएको परिमाण र बिक्रेताले वितरण गरेको तथ्याङ्क मिलान गरेपछि कृत्रिम अभाव हटाउन सहज हुनेछ,” ठाकुरले बताए ।
उनका अनुसार एकै व्यक्तिले चार–पाँचवटा सिलिन्डरसम्म भरेर राख्ने प्रवृत्तिले पनि समस्या बढाएको छ । दैनिक करिब एक लाख सिलिन्डरको माग रहेकोमा उद्योगहरूले सोही अनुपातमा आपूर्ति गरिरहेको निगमको भनाइ छ ।
यद्यपि बजारमा उपभोक्ताले केही दिन कुर्नुपर्ने अवस्था देखिएको निगमले स्वीकार गरेको छ । ग्यास लुकाउने वा कालोबजारी गर्ने गतिविधिको अनुगमन गर्ने मुख्य निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भएकाले प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ ।
निगमले कृत्रिम अभाव हटाउन निगरानी कडा बनाउने र तथ्याङ्क प्रणालीमार्फत वितरण प्रक्रिया पारदर्शी बनाउने तयारी गरेको जनाएको छ ।





















