काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका १४ जनामध्ये ३ जना मात्र विजयी हुँदा ११ जना पदविहीन बनेका छन्।
केन्द्रमा बालेन र हर्कको फड्को
बालेन्द्र शाह (बालेन) र हर्कराज राई (हर्क साम्पाङ) ले स्थानीय तहमा बनाएको प्रभावलाई संघीय राजनीतिमा पनि निरन्तरता दिएका छन्।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी बाट झापा–५ मा विजयी भए।
हर्क साम्पाङ आफ्नै ‘श्रम संस्कृति पार्टी’बाट सुनसरी–१ मा निर्वाचित भए।
यस्तै, वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष पद त्यागेर चुनाव लडेका सुशील साह कानु पनि पर्सा–२ बाट विजयी भए।
पराजित ‘हेभीवेट’ जनप्रतिनिधि
भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन–३ मा उम्मेदवारी दिएकी रेणु दाहाल पराजित भइन् । उनलाई रास्वपाकी सोबिता गौतमले हराइन्।
धुलिखेलका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठ काभ्रे–२ मा तेस्रो स्थानमा सीमित भए। रंगेलीका पूर्वमेयर दिलिप वगडिया मोरङ–२ मा पराजित भए। सूर्योदयका पूर्वमेयर रणबहादुर राई इलाम–१ मा पाँचौँ स्थानमा खुम्चिए।
टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू कैलाली–१ मा तेस्रो भए। सोलुखुम्बुमा गाउँपालिका अध्यक्ष पद त्यागेका असिम राई पराजित भए भने उदयपुर–२ मा उम्मेदवार बनेका मेजर कुमार राई को जमानत जफत भयो।
नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, ओखलढुंगाकी उपाध्यक्ष अस्मिता थापा, वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि प्रतिनिधिसभा यात्रा तय गर्न असफल भए।
‘माननीय’ बन्ने दौडको मूल्य
स्थानीय सरकार सञ्चालनको अनुभव संघीय संसद्मा उपयोग गर्ने तर्कसहित पद त्यागेका ११ जना नेताहरू न स्थानीय तहमा फर्किन सके, न संसद्मै प्रवेश पाए। यो परिणामले स्थानीय राजनीतिबाट केन्द्रतर्फ हाम फाल्दा जोखिम कति उच्च हुन्छ भन्ने सन्देश दिएको छ।
























