चितवन / भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी र स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेल सहित तीन जना चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको छ ।
आज आइबार बिहान भरतपुर अस्पतालको फेसबुक पेज मार्फत जानकारी गराउँदै अस्पतलका अध्यक्ष डा. भोजराज अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । अधिकारीले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।
यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पताल तथा सरोकारवाला निकायको आकस्मिक बैठक बसेर अस्पताल कसरी सञ्चालन गर्ने बारे निर्णय गरिने अध्यक्ष डा.अधिकारीले बताए । अस्पतालको आकस्मिक कक्षलाई अर्को ठाउँमा सारेर आधारभूत सेवा दिने तयारी भइरहेको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताए ।
यस अघि सोही अस्पतालको आइसीयू कक्षमा कार्यरत र प्यथोलोजिस्ट डाक्टरलाई कोरोना पुष्टि भएको थियो ।





















