काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको ‘संक्षिप्त घोषणापत्र’मा शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विषयको पुनरावलोकन र परिमार्जन गर्ने उल्लेख गरिएको छ। संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा पुनरावलोकनको आवश्यकता औंल्याउँदै दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई उच्च प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार सामाजिक विभेद र असमानता अन्त्य, आत्मनिर्भर तथा स्वाधीन अर्थतन्त्र निर्माण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार तयार गर्ने र राष्ट्रिय हितअनुकूल परराष्ट्र सम्बन्ध सुदृढ गर्ने विषयलाई घोषणापत्रमा समेटिएको छ।
घोषणापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, ५ लाख नियमित रोजगारी सुनिश्चित गर्ने र विदेशबाट फर्केका १ लाख नागरिकलाई उद्यमी बनाउने योजना पनि उल्लेख छ।
कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित धान, दूध, मासु, तरकारीलगायत उत्पादनमा आत्मनिर्भर बन्ने, आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्ने र सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ।





















