चितवन – चितवन मेडिकल कलेज (सिएमसी) को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा निःशुल्क ओपिडी (बहिरंग) सेवा र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट हुने भएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा माघ १९ गतेदेखि २४ गतेसम्म यो सुविधा दिईएको हो ।
क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । इन्स्टिच्यूटले फेब्रुअरी ४ (माघ २१ गते) परेको विश्व क्यान्सर दिवसको अवसर पारेर माघ १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि निःशुल्क ओपिडी दर्ता तथा क्यान्सरसम्बन्धी विभिन्न स्क्रिनिङ परीक्षणमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पु¥याउनु रहेको इन्स्टिच्यूटले जनाएको छ । यस विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षणहरू समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ ।
रगतको मात्रा मापन (CBC – Complete Blood Count), कलेजोको कार्य परीक्षण (LFT – Liver Function Test), मृगौलाको कार्य परीक्षण (RFT – Renal Function Test), रगतको सुगर परीक्षण (RBS – Random Blood Sugar), प्रोस्टेट क्यान्सर परीक्षण (PSA – Prostate–Specific Antigen), छातीको एक्स-रे (Chest X–Ray), पेटको अल्ट्रासाउन्ड (USG Abdomen) सेवा रहेका छन् ।
यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेज अन्तर्गत रगतको मात्रा मापन (CBC – Complete Blood Count), कलेजोको कार्य परीक्षण (LFT – Liver Function Test), मृगौलाको कार्य परीक्षण (RFT – Renal Function Test), रगतको सुगर परीक्षण (RBS –Random Blood Sugar), पाठेघरको मुखको परीक्षण (PAP Smear), छातीको एक्स–रे (Chest X–Ray), पेटको अल्ट्रासाउन्ड (USG Abdomen), स्तनको अल्ट्रासाउन्ड (USG Breast) रहेका छन् । महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ छैन भन्नेबारे जानकारी लिन परीक्षण गराउने गरिन्छ । यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिईएको छ ।
इन्स्टिच्यूटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको छ । स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई अपिल समेत गरिएको छ ।
यसै बीच दिवसको अवसरमा माघ २१ गते बिहान ८ बजे अस्पताल परिसरबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । सचेतना फैल्याउने उद्देश्यले आयोजित प्रभातफेरीले भरतपुरका विभिन्न भागको परिक्रमा गर्ने छ ।






















