गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग आग्रह गरेको छ।
रास्वपाले गोप्य सूचनाको आधारमा हातहतियार सहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत रूपमा सुरक्षा खतरा बढेको दाबी गर्दै तत्काल सुरक्षा व्यवस्था गर्न माग गरेको हो।
पार्टीका जिल्ला सचिव मिलन रानाले हस्ताक्षर गरेको पत्रमार्फत प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा लिन र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।
पार्टीले निर्वाचनको समयमा उम्मेदवारको सुरक्षामा चुकावट भए गम्भीर परिणाम आउन सक्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ।
























