बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण भएको चार कोठे भवनको अन्तिम भुक्तानी प्रक्रिया सहज बनाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग नगद घुस मागिएको थियो।
सोही सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा इन्जिनियर मोहन देव मल्लले एक लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।
घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।





















