माडी – चितवन क्षेत्र नम्बर ३ का विकासप्रेमी उम्मेदवार रेनु दाहालले माडी नगरपालिका–७ मा आज सोमबारबाट घरदैलो अभियान शुरु गर्नुभएको छ ।
अभियानका क्रममा उहाँले माडी–७ का बासिन्दाहरूसँग विकास निर्माण र जनजीविकासँग सम्बन्धित विभिन्न प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको छ । दाहालले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको धुलाम्मे सडकको समस्यालाई समाधान गर्दै सडकहरूलाई धुलो रहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“काम गरेर देखाउँछु, हामीलाई विश्वास गर्नुस्,” भन्दै उहाँले जनतासँग भावनात्मक अपिल पनि गर्नुभयो । घरदैलोका क्रममा उहाँले जे गर्न सकिन्छ, त्यो मात्रै उल्लेख गर्ने र सम्भव नहुने वाचा नगर्ने स्पष्ट धारणा राख्नुभयो । विकासका नाममा अनावश्यक आश्वासन नदिई व्यवहारिक र दीर्घकालीन योजना अनुसार अघि बढ्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, माडी क्षेत्रका किसानहरूलाई जङ्गली जनावरबाट हुने क्षति रोक्न बगैँदेखि बनकट्टासम्म जङ्गली जनावर नियन्त्रणका लागि घेराबार निर्माण, साथै रिउ नदी तटबन्धन कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
स्थानीयवासीहरूले दाहालको घरदैलो अभियानलाई सकारात्मक रूपमा लिँदै विकासका विषयमा प्रत्यक्ष संवाद भएको भन्दै खुसी व्यक्त गरेका छन् ।





















