चितवन – देवघाट मा ११ दिने धार्मिक महोत्सव को आयोजना हुने भएको छ । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव’ हुने भएको छ । यही माघ १९ देखि माघ २९ गतेसम्म ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव’ हुने भएको हो ।
आश्रमका पीठाधीश अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सुमधुर कथावाचक आचार्य शीतल कृष्णजी महाराजको सत्सङ्कल्पमा देवघाट माघ महोत्सव कार्यक्रमको आयोजना हुन गइरहेको छ ।
जसमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका देवी प्रतिभाको पनि आगमन हुने भएको छ । ४० बर्ष पुरानो राम राम आश्रम जिर्ण हुँदै गएकाले त्यसको पुननिर्माण र संरक्षणका लागि आर्थिक संकलन सोरुप सो महायज्ञ लगाउन लागिएको महायज्ञका मिडिया संयोजक विकसित शर्माले बताए ।
देवघाटधाममा आउने तीर्थयात्रीहरूको आवास एवं भोजनको निःशुल्क व्यवस्था, विशाल धर्मशालाको आवश्यकता, मन्दिरको पुनर्निमाण, अखण्ड धुनी र अखण्ड दीपको संरक्षण एवं निरन्तरता पनि गर्नुपर्ने भएकाले उक्त महायज्ञले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । शालग्रामवाहिनी गण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा माघ महिनाको स्नान गर्नु अत्युत्तम पुण्यको साधन हो भन्ने शास्त्रहरूको भनाइ छ । वराहपुराण अनुसार समस्त देवताहरू अन्य तीर्थपनि छाडेर देवघाटमा आउँछन् ।
यस्तो परमपावन माघ महिनामा दुर्गा माताको प्रसन्नताका लागि गरिने ‘शतचण्डी महायज्ञ आफैँमा अभूतपूर्व रहने अपेक्षा गरिएको छ । यज्ञमार्फत वातावरण शुद्धीकरण, मानसिक शान्ति, सामाजिक सद्भाव र आध्यात्मिक उन्नति हुने शास्त्रीय मान्यता छ । देवघाटजस्तो पवित्र स्थलमा माघजस्तो पवित्र महिनामा चालीस वर्षदेखि निरन्तर बलिरहेको पवित्र यज्ञकुण्डमा सम्पन्न हुने बृहत् यज्ञले विश्वकै कल्याण र व्यक्तिको हृदयको पवित्रताका लागि पनि ठूलो भूमिका खेल्नेछ ।
यस पवित्र साधनामा सहभागी भई पुण्यसञ्चय गर्न श्रद्धालु भक्तजनहरूको सहयोग सदैव अपेक्षित रहेको महोत्सव आयोजकको भनाई छ ।





















