काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश ५० जना उम्मेदवारले उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उम्मेदवारी फिर्ता लिने ५० जनामध्ये २० जना जनमत पार्टीका रहेका छन्। जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको थियो।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए। उक्त सूचीमा समावेश उम्मेदवारहरूको क्लस्टर मिलानको प्रक्रिया पूरा गरी दलहरूले पुस २७ गतेसम्म सूची सच्याइसकेका छन्।
आज उम्मेदवार स्वयंले समानुपातिक उम्मेदवारी फिर्ता लिन निवेदन दिन सक्ने अन्तिम दिन हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं आयोगमा उपस्थित भएर निवेदन दिनुपर्ने व्यवस्था छ।
उम्मेदवारी फिर्ताको निवेदन परेपछि आयोगले सम्बन्धित दललाई उक्त स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्न समय दिने जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।





















