काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा लामो छलफल गरेका छन्।
आइतबार, ललितपुर–१० स्थित ज्वागलमा आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग बैठक गरेका थिए।
बैठकमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठकले भनें, “हामी पार्टी सभापति रवि लामिछानेसहितका नेता र कार्यकर्ताहरूसँग संवाद गर्न काठमाडौं आएका थियौं। त्यस क्रममा मेयर बालेनसँग पनि छलफल गर्ने अवसर मिल्यो।” पाठकका अनुसार, बालेन शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने आफ्नो निर्णय सुनाएका थिए।
मेयर बालेनले बैठकमा झापा–५ का वर्तमान अवस्था, त्यहाँको विकास र स्थानीय आवश्यकताहरू बारेमा आफ्नो टोलीले सर्भेक्षण गरेको जानकारी पनि दिएका थिए। उनले थपे, “हामीले स्थानीय नागरिकको आवश्यकता र चाहनाहरूलाई ध्यानमा राखेर केही योजनाहरू तयार पारेका छौं। रास्वपाको जिल्ला पार्टीले पनि केही योजनाहरू तयार पारेको छ भने, त्यसको खाका पठाउन भनेको छ,” उनले भने।
मेयर बालेनले आगामी दिनमा सामाजिक सञ्जालमार्फत झापा–५ का लागि चुनावी आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिएका थिए। पाठकले भने, “उहाँको मनस्थिति हेर्दा झापा–५ बाटै चुनाव लड्ने जस्तो देखिन्छ। विस्तृत छलफल भने पार्टीभित्र हुनेछ।”
झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँ उनी लगातार चुनाव जित्दै आएका छन्। तर, २०६४ सालमा ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
झापाका नेताहरुसँग भेटेपछि बालेनले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– ‘शुभकामना सबैलाई, हामी आउँदै छौँ ।’





















