काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै कब्जा गरिसक्यौँ भन्ने भ्रमपूर्ण होहल्ला फैलाइरहेको आरोप लगाएका छन् ।
रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा फैलाइने हल्लाप्रति सचेत रहन आग्रह गर्दै भने, “अहिले सोसल मिडिया हेर्दा विचारविहीन, इतिहासविहीन, त्याग–तपस्या र बलिदानबाट टाढा रहेकाहरूले देश पूरै कब्जा गरिसकेजस्तो वातावरण बनाइएको छ । सहर–बजारका केही मानिस यस्तै हल्लामा रमाइरहेका छन् ।दशकौँको संघर्ष, आन्दोलन र बलिदानबाट स्थापित शक्तिलाई बदनाम गर्ने प्रयास भइरहेको छ ।”
प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला फैलाउनेहरू नै मुक्तिदाता हुन् भन्ने झुटो प्रचार चलाइएको उल्लेख गरे । लामो इतिहास र बलियो वैचारिक आधार भएका पार्टीहरू सकिए भन्ने प्रचारलाई जनताले नपत्याएको उनको दाबी छ । “जनतामा अझै पनि नेपाली कम्युनिष्ट आन्दोलन र यसले अँगालेको विचारप्रति आकर्षण कायमै छ,” उनले भने ।
प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगप्रति गम्भीर सचेतना आवश्यक रहेको बताए । “एआईले मानव चेतनालाई नयाँ तहमा पुर्याइरहेको छ ।
तर, यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । हामी मोबाइल आफैँ चलाइरहेका छौँ, समाचार आफैँ पोस्ट गरिरहेका छौँ भन्ने लागे पनि यसको एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै नियन्त्रणमा छ,” उनले भने ।





















