काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भट्टसहित तत्कालीन सब–इन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी, खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
आयोगका अनुसार खेल मैदान निर्माण तथा सुधारका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र सङ्घीय सांसद विकास कोषबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। उक्त कार्य सम्पन्न गर्न आर्थिक वर्ष २०७५/७६ मै गठन गरिएको बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिलाई निरन्तरता दिई सोही समितिसँग सम्झौता गरिएको पाइएको छ।
त्यस्तै, एउटै आर्थिक वर्षमा दुई फरक–फरक स्रोतबाट बजेट विनियोजन भए पनि छुट्टाछुट्टै लागत अनुमान तयार गर्नुपर्नेमा एउटै लागत अनुमान देखाई एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणका क्रममा ठेकेदारले तत्कालीन गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी कमसल निर्माण सामग्री प्रयोग गरेको, प्राविधिक रूपमा आवश्यक डीपीआर तयार नगरी निर्माण गरेको तथा काम सम्पन्न नगरी रकम हिनामिना गरेको आरोप छ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।





















