काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । महाधिवेशनको पाँचौँ दिन आज काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदानमा एक जना प्रतिनिधिले भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टा ४ मिनेटसम्म समय लागेको छ ।
निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार साँझ ५ बजेर २ मिनेटसम्म कुल ८०२ मत खसिसकेको छ । उनका अनुसार मतदान प्रक्रिया अपेक्षा गरेभन्दा ढिलो भइरहेको छ । ‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘सुरुमा एक जना मतदाताले औसत ३५ मिनेटमा मतदान गर्न सक्ने अनुमान गरिएको थियो । तर सबै प्रतिनिधिलाई प्राविधिक जानकारी नहुँदा मतदानमा समय बढी लागेको हो ।’
पोखरेलले मतदान प्रक्रिया आज रातभर सञ्चालन हुने जानकारी पनि दिए । उनका अनुसार मतदान गर्न चाहने प्रतिनिधिले साँझ ८ बजेसम्म टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । टोकन लिएर लाइनमा उभिएका प्रतिनिधिहरूलाई पालोअनुसार मतदान गर्न दिइने उनले बताए ।
एमालेको यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि मतदाता रहेका छन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै पक्षले संगठन सुदृढीकरण, पार्टी एकता र आगामी राजनीतिक कार्यदिशालाई मुख्य एजेन्डा बनाएका छन् ।
पुनः महासचिव बन्न जारी ११औँ महाधिवेशनमा चुनावी मैदानमा उत्रिएका शंकर पोखरेलले मतदानका लागि भित्र प्रवेश गर्न समय तोकिएको जानकारी दिएका छन् ।





















