काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै भनेको छ कि आवेदन प्रक्रिया यही मङ्सिर २१ गते बिहान १०ः०० बजेबाट २३ गते अपराह्न ४ः०० बजेसम्म खुल्ला रहनेछ। आवेदन पेश गर्ने दलको नामावली मङ्सिर २४ गते सार्वजनिक गरिनेछ।
समानुपातिक प्रणालीका लागि आयोगले कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ भने सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकेको छ। यसैगरी, आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा तोकिएको छ।
प्रत्यक्ष निर्वाचन तर्फको कार्यक्रम अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने, माघ ७ गते उजुरी दिने, माघ ८ गते नामावली प्रकाशन, र माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने तालिका तय गरिएको छ। आयोगले माघ ११ गते राष्ट्रियसभाको निर्वाचनको तयारी पनि अगाडि बढाइरहेको छ।





















