नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिन थालेको छ।
दुवै पक्षले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्न सक्रिय अभियान चलाइरहेका छन्। पार्टी भित्रको दौडधूपसँगै सामाजिक सञ्जालमा पनि ओली–पोखरेल पक्षबीच ‘पोस्टर प्रतिस्पर्धा’ तीव्र बनेको छ।
ओली पक्षले फेसबुकमा प्रचार गरेको पोस्टरमा भनिएको छ- ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व।’
त्यसको जवाफमा पोखरेल समूहले सार्वजनिक गरेको पोस्टरमा ‘लोकतान्त्रिक पार्टी, समुन्नत देश- नयाँ नेतृत्व, नयाँ सन्देश’ भन्ने नारासहित नयाँ नेतृत्व आवश्यक रहेको सन्देश दिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा दुबै पक्षको प्रचार–प्रसार थप चर्किने देखिएको छ।





















