काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले गम्भीर संकटको सामना गरिरहेको बताए ।
मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टीका विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत २३ र २४ भदौका आन्दोलनहरूले देशमा उत्पन्न भएको अफ्ठ्यारो अवस्थाबारे जोड दिए ।
विशेषगरी २४ भदौको विध्वंसकारी घटनापछि सम्पूर्ण नेपाली समुदायको आत्मनिर्णयको अधिकारमाथि नै प्रश्नचिह्न खडा भएको उनले भने ।
राष्ट्रलाई निश्चित भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, धर्म, संस्कृति र भाषाका व्यक्तिहरूको योगफल ठान्ने दाहालले राष्ट्रिय एकताको महत्त्वमा जोड दिए । उनले भने, “अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ ।
तपाईंहरूले पनि महसुस गर्नुभएको होला । २४ भदौको विध्वंसपछि सिंगै नेपाली समुदायको आत्मनिर्णयको अधिकारमाथि प्रश्नचिह्न खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो भन्ने बुझ्नुपर्छ । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।”
कार्यक्रममै सहसंयोजक माधवकुमार नेपालले पनि देशलाई जोगाउन सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताए ।
विभिन्न समयमा भिडलाई उत्तेजित पार्ने तत्त्वहरू सक्रिय रहेको उल्लेख गर्दै उनले तिनबाट सावधान रहन आह्वान गरे । उहाँले भन, “सबैभन्दा पहिला नेपाली हौं भन्ने भावना जगाउन जरुरी छ ।”





















