काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
चितवनका लागि रबि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका थिए। ओपनर दीपक बोहराले ४२ रन थपे भने सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए।
बलिङतर्फ कर्णालीका कप्तान सोम्पल कामीले २ विकेट लिए। मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान रूपमा १–१ विकेट लिए।
यो जितसँगै चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई हराएको हो। पहिलो संस्करणमा कर्णालीले दुवै खेलमा चितवनलाई पराजित गरेको थियो—लिग चरणमा ५ विकेटले र एलिमिनेटरमा २१ रनले।





















