काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतवार सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठक बालुवाटारमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
बैठकमा सहभागी मुख्यमन्त्रीहरूले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा संघ सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा मुख्यमन्त्रीहरूले सराहना व्यक्त गर्दै ती पहलले निर्वाचनमाथि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्रीहरूको भनाइमा निर्वाचनको मुख्य चुनौती शान्ति–सुरक्षासँग सम्बन्धित रहेकाले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढे तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिनेछ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ । तर, चुनावको वातावरण बनाउन संघ सरकारले पहल गरोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस्। अबको निकास चुनाव नै हो ।”
मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पुनःनिर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएका छन् ।
त्यस्तै, खर्च कटौतीका लागि संघीय सरकारले जारी गरेको परिपत्रले प्रदेश सरकारको अधिकारक्षेत्रमा हस्तक्षेप गर्ने प्रयास गरेको हो कि भन्ने आशंका समेत उनीहरूले प्रकट गरेका छन् ।
संघ सरकारले हालै सार्वजनिक परिपत्रमार्फत कानुनले तोकेभन्दा बढी सहयोगी र सल्लाहकार ननियुक्त गर्न, १० लाख रुपियाँभन्दा माथिका योजना प्रतिस्पर्धामार्फत ठेक्कामा दिनुपर्ने लगायतका निर्देशन जारी गरेको थियो ।
मुख्यमन्त्रीहरूले उक्त परिपत्रले न्यायिक र प्रशासनिक सुधारका पक्षमा चासो नदेखाई प्रदेशका राजनीतिक पदाधिकारीहरूको सुविधामात्र सीमित गरेको आरोप लगाएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न संघ सरकारसँग माग गरेका छन् ।
उनीले डेडिकेटेड फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग, मजदुर र राजस्वमा नकारात्मक असर पार्ने भन्दै पुनर्विचार गर्न आग्रह पनि गरे ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू नै वर्तमान व्यवस्थाका वाहक भएकाले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी जननिर्वाचित दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन् ।





















