काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट बाहिर निस्कन र स्थायित्वका लागि सबै पक्षको एकता आवश्यक रहेको बताएकी छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सरकार, राजनीतिक दल र जेन–जी समूहका प्रतिनिधिहरूबीचको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले सहकार्य र साझा दृष्टिकोणको आवश्यकता औँल्याउँदै भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन ।’
उनले भनिन्, ‘एक पटकको छलफलले सबै समस्या समाधान हुँदैन । संवाद निरन्तर हुनुपर्छ, एकअर्काको कुरा सुन्नुपर्छ र मिलेर अघि बढ्नुपर्छ । यो छलफल त्यसैको सुरुवात हो ।’
प्रधानमन्त्री कार्कीले हालको राजनीतिक संक्रमण, सुशासनका चुनौती र आगामी निर्वाचनको तयारीबारे पनि सहभागीहरूलाई अवगत गराउँदै सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताइन् । उनले देशलाई स्थायित्व र विकासको बाटोतर्फ लैजान सरकार प्रतिबद्ध रहेको दोहोर्याइन् ।
छलफलमा सहभागी जेन–जीका प्रतिनिधिहरूले देशलाई अहिले सर्वाधिक आवश्यक कुरा चुनाव र सुशासन भएकोमा जोड दिए । उनीहरूले जनताले परिवर्तन चाहेको, तर त्यस परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्न इमानदार शासन र भ्रष्टाचारविरुद्ध ठोस कदम आवश्यक भएको बताए ।
जेन–जीका एक अगुवाले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ, तर चुनाव–चुनाव भनेर मात्रै हुँदैन । हाम्रो आन्दोलनको मूल मर्म सुशासन र पारदर्शी शासन हो । यी एजेन्डामा सरकार सँगसँगै अघि बढे देशले दिशा पाउँछ ।’
बैठकमा प्रमुख राजनीतिक दलका केही प्रतिनिधिहरूले समेत चुनावका तयारी, सुरक्षा अवस्था र राजनीतिक सहमतिको सम्भावनाबारे आफ्ना धारणा राखेका थिए । छलफललाई सकारात्मक सुरुवातको रूपमा लिँदै सबै पक्षले संवादलाई नियमित र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन् ।






















