काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको वर्तमान संकट समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। उनले तयार पारेको १२ पृष्ठ लामो लिखित प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, शुक्रबार पेश गरिनेछ।
यसअघि असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा समेत भट्टराईले ओलीले स्वेच्छिक रूपमा नेतृत्व सुम्पनुपर्ने धारणा सार्वजनिक रुपमा राखिसकेका छन्।
भट्टराईको प्रस्तावमा पार्टीभित्र उत्पन्न अन्योलता, निराशा, भय र आक्रोशको अवस्थामा नयाँ नेतृत्व र पुनर्गठन आवश्यक रहेको उल्लेख छ। उनका अनुसार, “अब पार्टीमा नयाँ आशा, उत्साह र विश्वासको सञ्चारको लागि पहिलो शर्त हो, पार्टीको बहुआयामिक पुनर्गठन।”
भट्टराईले ओलीले नेतृत्व हस्तान्तरण गर्नका लागि दुईवटा वैकल्पिक बाटोहरू प्रस्ताव गरेका छन्:
कार्यवाहक अध्यक्ष- ओलीले तुरुन्तै वरिष्ठतम् नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आगामी महाधिवेशनमार्फत सहमति वा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्ने।
महाधिवेशनमार्फत हस्तान्तरण- ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गरी, त्यो महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने।
भट्टराईले कुन विकल्प अपनाउने भन्ने निर्णय ओलीकै “अन्तरआत्मा”मा निर्भर हुने स्पष्ट पारेका छन्।
भट्टराईले भदौ २३ गतेको जेनजी आन्दोलनप्रति सरकारले गरेको दमनलाई ‘दुःखद् र अकल्पनीय’ भन्दै त्यसले गम्भीर प्रभाव पारेको टिप्पणी गरेका छन्।
उनको भनाइमा, “२३ गतेको घटनापछि सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिएर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर संसदलाई बचाउने अवसर थियो। तर त्यो प्रयास भएन।”
उनले सुरक्षा समन्वयको कमी, संवेदनशीलताको अभाव, र सुरक्षा निकायसँग विश्वासको संकट देखिएको पनि बताएका छन्।
भट्टराईको प्रस्ताव एमाले नेतृत्वमा परिवर्तन, आन्तरिक सुधार र पुनर्गठनको माग गर्ने अबधारणासहित प्रस्तुत हुँदैछ। यो प्रस्तावले पार्टीभित्र नयाँ बहस र सम्भावित सत्ता संघर्षको ढोका खोल्ने देखिएको छ।





















