चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए ।
माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । वीहीबार बिहान चितवनको भरतपुरस्थित पार्टी का र्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् ।

युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्, उनले भने, भ्रष्टाचारविरोधी अभियान हाम्रो शुरूदेखिको मुद्दा हो । अहिले जेनजीले त्यसैको स्वर बुलन्द पारेको छ । उनले असोज २३ गते राजधानीमा भएको आन्दोलनमा भएको गम्भीर सुरक्षा लापरवाहीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए । प्रचण्डले भने उहाँहरुले पनि हाम्रो कमजोरीले यस्तो घटना घटेको हो भन्नु पदर्छ ।
शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेस लगाएका युवाहरूको टाउको र छातीमा गोली हानिनु अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो हो,प्रचण्डले भने । २४ गते सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिमका कारण आफूहरू सेनाको समन्वयमा त्यहीँ बस्नुपरेको स्पष्ट पार्दै उनले भने, हामीलाई कसैले लगेका होइन, परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रसँगको सहकार्यमा सुरक्षित स्थानमा गएका हौं । संयोजक प्रचण्डले अहिले देशको राजनीतिक संकटको समाधान निर्वाचनमार्फत मात्र सम्भव हुने बताए । राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सबैको निष्कर्ष एउटै छ( अब निर्वाचन नै मार्ग हो,उनले भने, जनताले पनि परिवर्तनको बाटो यहीँबाट रोज्नेछन् ।
“युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचार विरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।” संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भुमिकाको आलोचना गरे । उनले भने, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।”

संसद् पुनःस्थापनाको विषय गौण बनिसकेको उनको भनाइ छ । पार्टी एकताको प्रसङ्गमा प्रचण्डले लामो समयदेखि चलिरहेको वाम एकता छलफल अब निष्कर्षमा पुग्न लागेको बताए । पहिलो चरणमा समाजवादी मोर्चाभित्रका दलबीच एकता हुन्छ, घोषणा केही दिनभित्र हुनेछ,उनले भने, हाम्रो दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउनु पनि हो ।
पार्टीको भविष्यप्रति विश्वस्त देखिनुभएका संयोजक प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको उल्लेख गर्नुभयो ।“तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन्,” उहाँले भन्नुभयो ।
कार्यकर्ताहरूलाई अबको प्राथमिक कार्य निर्वाचन तयारी रहेको स्मरण गराउँदै संयोजक प्रचण्डले निर्वाचनमा सहभागी भई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।”






















