काठमाडौं । नेकपा (माओवादी केन्द्र)का निवर्तमान महासचिव देव गुरुङले पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरामाथि निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
देश गम्भीर राजनीतिक संकटमा रहेको वेला तीन वर्ष अगाडिको मुद्दा पुनः सक्रिय गराइएकोमा गम्भीर आशंका व्यक्त गर्दै गुरुङले कानुनी प्रक्रियाको नाममा कुनै षड्यन्त्र वा राजनीतिक प्रतिशोध हुन नहुने स्पष्ट पारेका छन् ।
सुन तस्करी समूहलाई सघाएको आरोपमा पूर्वसभामुख महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साढे आठ करोड रुपैयाँ बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
तीन वर्षअघि महरामाथि मुद्दा नचलाउने निर्णय भइसकेको र उनका छोरा राहुल महराले १८ महिने कैद सजाय भुक्तान गरिसकेको स्मरण गर्दै गुरुङले भनेका छन्-“अहिले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको छ । राजनीतिक दलहरूको भूमिका मार्फत मात्रै स्वाधीनता जोगिएको अवस्थामा उक्त मुद्दा पुनः सक्रिय गरिनु गम्भीर विषय हो ।
उनले भनेका छन्-कानुनी रूपमै निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण होस्, र कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र वा राजनीतिक प्रतिशोध नहोस् भनी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”





















