काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका संगठन र कार्यकर्ताहरूलाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय हुन निर्देशन दिएको छ।
पार्टीका महाधिवेशन आयोजक समिति संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी परिपत्रमा निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी कार्य गर्न आग्रह गरिएको छ।
परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।”
माओवादी केन्द्रले आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम सूचीकृत गर्न, विवाह वा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भए आवश्यक प्रक्रिया पूरा गर्न, साथै नाम, जन्ममिति वा अन्य विवरणमा गल्ती भए सच्याउन सम्बन्धित कार्यालयसँग पहल गर्न निर्देशन दिएको छ।
पार्टीले यो अभियानलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा लिँदै सबै कार्यकर्तालाई स्थानीय तहमा सक्रिय हुन आह्वान गरेको छ।





















