काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनको तयारीमा जुट्न आफ्ना तल्लो तहका संरचना र सम्पूर्ण संगठनलाई स्पष्ट निर्देशन दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा भएसँगै माओवादीले चुनावी तयारीलाई औपचारिक र तीव्र गतिमा अघि बढाउने निर्णय लिएको हो ।
माओवादी केन्द्र पार्टीले औपचारिक निर्णय अझै नलिए पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरू र जिल्ला तहका नेताहरूसम्मलाई चुनावको सम्पूर्ण पूर्वतयारीमा सक्रिय हुन आग्रह गरेका छन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ प्रचण्डले भने, ‘अब हामी चुनावमा केन्द्रित भई संगठनलाई सुदृढ र परिचालित गर्नुहोला ।’
उनकाे भनाइमा जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै, बदलिँदो राष्ट्रिय तथा स्थानीय परिस्थितिलाई मनन गर्दै संगठनको विस्तार, जनसंपर्क र सशक्तीकरणमार्फत आगामी निर्वाचनको तयारी गर्न अत्यावश्यक छ । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न चुनाव नै प्रमुख विकल्प रहेको माओवादीको ठहर छ ।
यही कारण उसले चुनावलाई सफल बनाउन आवश्यक गृहकार्य, नीति निर्माण, उम्मेदवार छनोट र जनस्तरको अभियानलाई प्रारम्भिक चरणमै अघि सारेको बताइएको छ ।
अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने तयारीमा छ । ‘चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ,’ सचिव देवेन्द्र पौडेलले स्पष्ट परे ।
आठ दलसँग विघटित संसद् पुनःस्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नरहेको अनौपचारिक निष्कर्ष निकालेको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतले चुनावमा जाने अनुकूल वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गर्दै व्यापक राष्ट्रिय सहमतिको आवश्यकता दोहोर्याएका छन् ।
यसैबीच, माओवादीले मध्यपहाडी राजमार्ग अभियान चलाइरहेका बेला जेन-जी विद्रोहपछि स्थगित गरिएको कार्यतालिका पुनः सक्रिय पार्दै स्थानीय तहसम्मको राजनीतिक गतिविधि तीव्र बनाएको छ ।
अध्यक्ष प्रचण्डसहित अन्य नेताहरू दैनिक भेटघाट, छलफल, जनसभासहितको राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् ।





















