काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समय र तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ मा आएका गुनासोका आधारमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । गुनासोअनुसार केही शिक्षक तथा कर्मचारीले कार्यालय समयमा विद्यालयको पोशाकमै टिकटक लगायतका भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दा बाल मनोविज्ञानमा नकारात्मक असर परेको बताइएको छ ।
यसैले मन्त्रालयले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीलाई तोकिएको पोशाक र कार्यसमयमा यस्ता गतिविधि नगर्न सावधान रहन आग्रह गरेको छ ।





















