चितवन / भरतपुर महानगरपालिका क्षेत्र भित्र ७ दिन पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा आज राति १२ बजेबाट सुरु हुनेछ ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
महानगर भित्र कोरोना रोग तीब्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको आव्हान गरिएको प्रमुख दाहालले बताउनुभयो । अति आबश्यक क्षेत्रलाई बिशेष निगरानी सहित निश्चित समय सञ्चालन गर्न दिईने गरि लकडाउन गरिने छ ।
भरतपुर महानगरपालिकाले निषेधाज्ञाको समयमा अत्यावश्यक सामग्री खरिद गर्नको लागि उपभोक्ताहरुलाई बिहान ५ देखि ८ आठ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्ममात्र समय दिइएको छ ।
महानगर प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा लामो दुरीका मालबहाक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शवबाहन, तरकारी, फलफूल तथा दूध ढुवानीको लागि प्रयोग भएका सवारी साधन पशुपक्षीको दाना बोक्ने साधन, खानेपानी, इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने साधनबाहेक सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको जनाइएको छ । महानगरको अपिलमा दुई पांग्रे सवारी साधनसमेत चलाउन रोक लगाइएको छ ।
आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधीपसलबाहेक सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य सबै कार्यालयहरुबन्द हुनेछन् ।
बैक वित्तीय संघसंस्थाहरु, सहकारीहरु, जनसम्पर्क हुने नियमित सेवाहरु पनि बन्द रहनेछन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयले पनि विज्ञप्ति जारी गरी निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न भरतपुर महानगरवासीलाई आग्रह गरेको छ
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई कारबाही गरिने जनाइएको छ ।





















