काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरिएको हो ।
यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । अदालतले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बुधबार ब्यूरोमा उपस्थित भएका उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतमा पेस गरिएको थियो ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कार प्रयास गरेको आरोपसहित जाहेरी दिएकी थिइन् । बझाङ स्थायी घर भएका महर अनेरास्ववियु अध्यक्ष हुँदै एमालेको राजनीतिमा आएका हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।
२०७८ मंसिरमा एमालेले महरलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । तर यौन दुराचारसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि सचिवालय बैठकले पुनः जिम्मेवारीमा फर्काएको थियो ।





















