काठमाडौं / आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको प्रति नेकपा अध्यक्ष प्रचण्ड स्तब्ध भएका छन् ।
उनले पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै ३ दर्जन बेपत्ता भएकाले उद्धारमा जुट्न समेत कार्यकर्ता सबैलाई आग्रह गरेका छन् ।
‘सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनु भएकाहरूको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु,’ अध्यक्ष प्रचण्डले समवेदना व्यक्त गर्दै भनेका छन्, ‘पहिरोमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले कालीकोटको महाबै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जना र मकवानपुरमा पनि पहिरोका कारण मृत्यु भएका १ जना प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले वर्षायाममा पहाडी भेगमा हुने गरेका प्राकृतिक घटनाको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजनामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गरेका छन् ।





















