काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभामा रहेका एमालेका आठ सांसदले उक्त विधेयकमा संशोधन प्रस्ताव पेश गरेपछि कोइरालाले एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् । कोइरालाले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ ।
गठबन्धनका दलबिच भएको सहमति र समितिमा भएको सर्वसम्मतीविपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
यस विषयमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग्नुपर्ने भन्दै कोइरालाले कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव सबै मिलेर रोक्नुपर्ने टिप्पणी गरेका छन् ।
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ,’ उनले लेखेका छन् ।





















