चितवन / भरतपुर क्षेत्रमा पछिल्ला केही दिन यता कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण समुदायस्तरमा देखिन थालेपछि भरतपुर महानगरपालिका भित्र निषेधाज्ञा जारी गरिने भएको छ ।
भरतपुर महानगरपालिका भित्र हालसम्म ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरूष ७०, महिला २३ रहेका छन् । एक जनाको मृत्यु भएको छ । महानगरले महानगरभित्र पछिल्लो ३ दिनमा २३ जना संक्रमित थपिएकाले निषेधाज्ञा गरेको हो ।
आज शुक्रबार भरतपुर महानगरपालिकामा भएको बैठकले राति १२ बजेबाट लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
“हामी आज बसेका थियौं”, उनले भने,“मेयर, उपमेयर, सीडीओ, यातायात व्यवसायीका प्रतिनिधि र हामी उद्योगी व्यवसायीका प्रतिनिधि बसेको बैठकले महामारी नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।”
बैठकमा महानगर प्रमुख मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरूङ, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले , यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी लगायत सरोकारवाला सहभागी भएको पौडेलले जानकारी दिनुभयो ।
बैठकमा महानगर प्रमुख मेयर रेनु दाहालले भन्नुभयो “जो जहाँ छ त्यही रहने गरि निषेधाज्ञा गरिदै छ ।” महामारीबाट वच्नका लागि निषेधाज्ञा वाध्यता भएको भन्दै दाहालले जुन कस्ट भए पनि हामी सबैले स्विकार गर्नुको वाध्यता रहेको बताउनुभयो ।
निषेधाज्ञा जारी भए सँगै महानगर क्षेत्र भित्र सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाइ गरिनेछ । राजमार्गमा अति आबश्यक सवारी मात्र चल्न दिने, दुध, तरकारी, मासु लगाएतका अति आबश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्रि आवागमन पूर्ण रुपमा निस्तेज हुने गरि लकडाउन आवहान गरिदै छ । महानगरका वडा मार्फत टोल सुधार समितिहरुलाई सबैलाई सतर्क भई घरमानै रहन सन्देश प्रवाह गरिदैं छ । महानगरको बिपद व्यवस्थापन ईकाई, दमकल, नगरप्रहरी, महानगरका सिमित कर्मचारीहरु परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने भरतपुर महानगर प्रमुख मेयर रेनु दाहाल जानकारी दिनुभयो ।
कलकारखाना सञ्चालनको लागि कारखानाभित्रै बस्नेहरूबाट मात्रै सञ्चालन गर्न पाइने भनिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ ।





















