नेपाली समाजमा असार १५ लाई दही–चिउरा खाने दिनका रूपमा विशेष महत्वका साथ मनाइन्छ । तर, यो केवल परम्परा वा सांस्कृतिक अभ्यास मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक परिकार हो दही–चिउरा ।
विशेषगरी गर्मीयाममा पसिना धेरै आउने, शरीरमा पानी र शक्ति कम हुने भएकाले दही र चिउरा मिसाएर खाने चलनलाई वैज्ञानिक दृष्टिले पनि उचित मानिन्छ । चिकित्सक र पोषणविद्का अनुसार दही–चिउरा एक सरल, सस्तो र पोषिलो मिश्रण हो, जसले शरीरलाई ताजगी, ऊर्जा र रोगसँग लड्ने क्षमता दिन्छ ।
दहीः पाचन सुधारदेखि रोग प्रतिरोधसम्म
दही प्राकृतिक प्रोबायोटिक्स् भएको खाद्यपदार्थ हो । यसमा पाइने लाभदायक ब्याक्टेरिया (जस्तै ल्याक्टोबेसिलस र बिफिडोब्याक्टेरिया) ले पाचन प्रणालीलाई सन्तुलित बनाउँछ, ग्यास, अपच, कब्जियत तथा ग्यास्ट्राइटिसजस्ता समस्या कम गर्छ ।
यसमा क्याल्सियम, प्रोटिन, पोटासियम, फस्फोरस, सेलेनियम, भिटामिन बी२, बी१२ र कोलिनजस्ता पोषक तत्त्व पाइन्छन्, जसले हाड बलियो बनाउने, मुटुका समस्या घटाउने, रगतमा खराब कोलेस्टेरोल कम गर्ने र छालामा चमक ल्याउने काम गर्छ ।
दहीको नियमित सेवनले डिप्रेसन र मानसिक तनाव घटाउने विभिन्न अध्ययनहरूले देखाएका छन् । साथै प्रोबायोटिक्स्ले रोग प्रतिरोध क्षमता बढाउन सहयोग गर्छ र गर्मीयाममा शरीरको तापक्रम सन्तुलनमा राख्न उपयोगी हुन्छ ।
चिउराः छिटो ऊर्जा दिने शक्तिशाली स्रोत
चिउरा नेपाली परम्परागत खाद्यपदार्थ हो, जसमा भरपूर कार्बोहाइड्रेट पाइन्छ । चिउरा छिट्टै पच्ने, तुरुन्तै ऊर्जा दिने र लामो समयसम्म पेट अघाउने खाद्यपदार्थ हो ।
यसमा फाइबर, भिटामिन बी, आइरन, फस्फोरसजस्ता खनिज तत्त्व पाइन्छन् । चिउरा प्रायः फलामको मिलमा कुटिने भएकाले यसबाट शरीरका लागि आवश्यक आइरनको समेत आपूर्ति हुन्छ, जसले रगतको कमी हुन दिँदैन ।
जब दही र चिउरा मिसिन्छ, फाइदा दोब्बर
दही र चिउरा एउटै परिकारमा मिसाएर खाँदा यी दुईका पोषण तत्त्व मिलेर एक शक्तिशाली सन्तुलित आहार बन्छ । चिउराले तुरुन्तै ऊर्जा दिन्छ भने दहीले पाचन राम्रो बनाउँछ, शरीरलाई चिसो राख्छ र रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।
गर्मीमा पसिना धेरै आउने र पानीको आवश्यकता बढ्ने भएकाले दही–चिउराले शरीरमा पानीको सन्तुलन कायम राख्छ, थकान घटाउँछ र ताजगी दिन्छ । खासगरी रोपाइँ वा खेतबारीको कामपछि दही–चिउरा खानु अत्यन्त उपयुक्त मानिन्छ ।
फलफूलजस्तै केरा वा आँप मिसाएर खाएमा स्वाद मात्रै होइन, पोषण पनि बढ्छ । चिनीको सट्टा यस्ता प्राकृतिक गुलियो प्रयोग गर्दा स्वास्थ्यलाई नोक्सान नपुग्ने गरी मिठास पाउन सकिन्छ । अचार वा हरियो तरकारी मिसाएर दही–चिउरा सेवन गर्दा झनै स्वादिलो र सन्तुलित परिकार बन्छ ।
को–कोले खानु हुँदैन ?
यद्यपि दही–चिउरा स्वास्थ्यका लागि फाइदाजनक छ, तर ल्याक्टोज नपच्ने वा दुधजन्य पदार्थमा एलर्जी हुने व्यक्तिका लागि भने यो हानिकारक हुनसक्छ । साथै दहीमा चिनी धेरै मिसाएर खाँदा मोटोपन र मधुमेहको जोखिम हुन सक्छ । दहीसँगै काँक्रा, चिया, दूध, खरबुजा, पनिरजस्ता केही खानेकुरा खानुहुँदैन भन्ने आयुर्वेदीय मान्यता पनि छ ।
असार १५ मा दही–चिउरा खानु केवल संस्कार होइन, वैज्ञानिक कारणले पनि यो दिन विशेष छ । गर्मीयामको मौसम, खेतबारीको काम, शरीरमा शक्ति र ताजगीको आवश्यकता ‘अल इन वान’ समाधान हो दही–चिउरा ।
यसको सेवनले पाचन सुधार, ऊर्जा आपूर्ति, रोग प्रतिरोध क्षमता वृद्धि र मानसिक स्फूर्ति दिने भएकाले दही–चिउरालाई केवल पर्वको खानाको रूपमा नभई नियमित खाजाको वैकल्पिक आहार बनाउन सकिन्छ । (एजेन्सीबाट )





















