चितवन – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौँबाट सञ्चालित गैरआवासीय प्रहरी तालिम (प्र.ना.म.नि/प्र.व.उ) मा सहभागी बरिष्ठ प्रहरी अधिकृतहरूको टोलीले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको स्थलगत अवलोकन तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
सहभागीहरुले अस्पतालका सेवा, सुविधा, जनशक्ति लगायतका विषयमा विस्तृत जानकारी लिएका हुन् । यस अवसरमा चितवन मेडिकल कलेजका प्रशासनिक र प्राविधिक टोलीद्वारा सहभागी प्रहरी अधिकृतहरूलाई कलेजको समग्र परिचय, सेवा प्रणाली र व्यवस्थापनबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।
CMC का प्रमुख प्रशासक प्रताप देवकोटाले चितवन मेडिकल कलेज देशकै अग्रणी निजी मेडिकल कलेजहरूमध्ये एक भएको बताउँदै कलेज अन्तर्गत चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानमा कार्य गर्दै आएको बताउनुभयो । सिएमसीले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ्ग, एमडि/एमएस लगायत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको दीर्घकालीन रणनीति अनुसार चिकित्सा शिक्षामा गुणस्तर कायम गर्दै उच्चस्तरीय सेवा प्रवाह गर्ने आफूहरुको प्रमुख उद्देश्य रहेको उहाँको भनाई थियो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल सुविधा सम्पन्न अस्पताल भएको भन्दै उहाँले अति विशिष्टिकृत सेवाहरु समेत दिंदै आएको बताउनुभयो । देवकोटाका अनुसार अस्पतालमा कार्डियोलोजी, न्युरो–सर्जरी, अन्कोलोजी, नेफ्रोलोजी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति, बाल रोग, छाला तथा यौन रोग, मनोरोग, डेन्टल, ईएनटी, फोक्सो लगायतका सबै खालका रोगको पहिचान र उपचार गरिंदै आएको बताउनुभयो ।
सो अवसरमा अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले सिटी स्क्यान, एमआरआई, मोडुलर ओटी, क्याथल्याब, डाईलासिस, आईसियू, एनआईसियू, पिआईसियु, इण्डोस्कोपी, ल्याप्रोस्कोपी, ट्रमा, बर्न लगायतका सुविधा अस्पतालमा रहेको जानकारी दिनुभयो । अस्पतालमा चौबीसै घण्टा सुविधा रहेको उहाँको भनाई छ ।
बिरामीमैत्री सेवा प्रवाह गर्दै आएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिएको बताउनुभयो । जनविश्वास र गुनासो व्यवस्थापन गर्दै आफूहरु अघि बढेको भन्दै स्थानीय सरकार, सुरक्षा निकाय, रेडक्रस, सामुदायिक संगठन लगायत सरोकारवालासँग नियमित समन्वय गरी स्वास्थ्य सचेतना, विपद् व्यवस्थापन र आकस्मिक सेवा सञ्चालनमा सहकार्य गरिँदै आएको बताउनुभयो ।
चितवन मेडिकल कलेजले कोभिड महामारीको समयमा खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै लम्सालले अन्य विपद्को समयमा उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो ।
सो अन्तक्रिया कार्यक्रममा सहभागी बरिष्ठ प्रहरी अधिकृतहरूले अस्पतालको सेवा व्यवस्थापन, प्राविधिक सञ्चालन र सामुदायिक पहुँचको अभ्यासप्रति चासो र सराहना गर्नुभएको थियो । चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रमा सेवा, शिक्षा र अनुसन्धानलाई समन्वयमा राख्दै गुणस्तरीय सेवा प्रवाहमार्फत राष्ट्रको स्वास्थ्य प्रणालीमा योगदान पुर्याईरहेको देवकोटाले प्रष्ट पार्नुभयो ।























