काठमाडौं । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको आजको वार्ता निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’
आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।
गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।





















