भरतपुर – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । आज पुलचोक-गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा बोल्दै दाहालले संघीय बजेटमा सडकको विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताइन् ।
सडक विस्तारका क्रममा धेरै अवरोध आएको भन्दै उनले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेको बताइन् । उनले चितवनमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित समयमा सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई ध्यानाकर्षण समेत गराएकी थिइन्।
प्रमुख रेनु दाहालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, सिटी हल, भरतपुर विमानस्थल लगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमा सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्थापन गर्न जोड दिइन्।
प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख रेनु दाहालले सयुक्त रुपमा भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उद्घाटन गरेका थिए ।





















