भरतपुर – विसं २०६२ सालमा स्थापना भएको गोरखाली तमू समाजले २० वर्षमा पाइला टेक्दै गर्दा बुधबार आफ्नै भवनको विधिवत् उद्घाटन गरिएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालमार्फत उक्त भवनको उद्घाटन गरिएको हो । गुरूङ जातिको संस्कार, संस्कृति एवं भाषा, कला र धर्म संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित समाज गठन भएपछि समाजको आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरिएको समाजका अध्यक्ष नेत्रबहादुर गुरूङले जानकारी दिए ।
व्यक्तिगत रकम सङ्कलनबाट संस्था सञ्चालन सुरू गरेको समाजले देउसीभैलो तथा घरदैलोसमेत आयोजना गरेको थियो । तिनै गतिविधि तथा सहयोगी दाता तथा स्थानीय सरकार, व्यवसायीलगायतको सहयोगमा समाजले आफ्नै नाममा जमिन गरेर भवन निर्माण गरिएको समाजका अध्यक्ष गुरूङले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष भुवन गुरूङका अनुसार भरतपुर महानगरपालिका वडा नं–११ मा पर्ने यस समाजमा गोरखा, लमजुङ, तनहुँ, धादिङ, कास्की, स्याङ्जालगायतका जिल्लाबाट आएर बसोवास गरेकाहरु आबद्ध छन् । स्थापनाकालमा जम्मा २३ घरधुरीबाट सुरू भएको समाजमा हाल ९२ घरधुरी आबद्ध रहेका उनले बताए । विभिन्न जिल्लाबाट बसाईसराइ गरी आउने क्रमको विकास भएसँगै गोरखाली तमू समाजको क्षेत्रसमेत बढ्दै गएको उनको भनाइ छ ।
‘गोरखाली टोल विकास संस्थाभित्र २४० घरधुरी आबद्ध हुँदा त्यसभित्रै ९२ घरधुरी गुरूङहरु छन्’, उनले भने, ‘संस्थामा आबद्ध हुन बाँकी पनि थुप्रै हुनुहुन्छ । उनीहरुलाई पनि संस्थामा आबद्ध गराउने प्रयास जारी छ ।’ समाजले गुरूङ जातिको जन्मदेखि मृत्युसम्मका हरेक गतिविधिलाई अपनाउँदै आएको उनले बताए ।
समाजको विकास र सदस्य सङ्ख्याको वृद्धि हुँदै गर्दा अझै पनि तला थप्ने, तलामाथि हल निर्माण गर्ने र भान्छासहितको गोदामघर निर्माण गर्नुपर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ । त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने समाजले माग गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने भरतपुर महानगरपालिकाभित्र वडा नं–११ सम्पन्नशाली वडाको रुपमा विकास हुँदै गएको बताइन् । वडाको क्षेत्रफल र जनसङ्ख्या दुवैका हिसाबले पनि महानगरपालिकाभित्रकै सबैभन्दा ठूलो वडा भएको बताउँदै पालिकाबाट आउने बजेटसमेत ११ नम्बरमा धेरै रहेको उनले दाबी गरिन् ।
गोरखाली तमू समाजले गर्न खोजेको काममा स्थानीय सरकारले इँटा थप्ने काममात्रै गरेको बताउँदै नगरप्रमुख दाहालले भनिन्, ‘पालिकाले जनताको चाहना र आवश्यकता हेरी काम गर्छ । अझै पनि हाम्रो कार्यकाल दुई वर्ष बाँकी छ । त्यसकारण स्थानीयले चाहेको खण्डमा आवश्यकता हेरी भरतपुर महानगरपालिकाले के गर्नुपर्छ गर्न तयार छ ।’ स्थानीय सरकार जहिल्यै पनि जनताको कामप्रति कर्मठ रहेको उनको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं–११ का अध्यक्ष कमलबहादुर मल्लले आफ्नो वडाभित्रको एउटा समाजमात्रै बलियो हुँदा पनि त्यसबाट समग्र वडाको विकासमा राम्रो टेवा पुग्ने बताए । समाजको थप विकासका लागि वडाबाट गर्नुपर्ने काम, कर्तव्य पूरा गर्ने उनले बचन दिए ।
कार्यक्रममा तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ, नवजागृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर केसी, गोरखाली टोल विकास संस्थाकी अध्यक्ष धनु थापामगर, गोरखाली तमू समाजका निवर्तमान अध्यक्ष एवं घ्याप्री गुरू तिलबहादुर गुरूङलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा संस्था सञ्चालनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थासँगै संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । समाजले २०७१ मा ८ धुर र २०७९ मा १३ धुर जग्गा खरिद गरेर समाजको भवन निर्माण गरेको हो ।





















