मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडमोडको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न ६ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो ।
उक्त घटनामा संलग्न सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत चैत ३१ मा हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै उनीहरुले अस्पतालको बोर्ड तोडमोड गरेका थिए । उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए । सो घटना लगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै विज्ञप्ती जारी गरेको थियो ।
घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आदेश गरे पनि उनीहरुलाई प्रहरीले भेटाउन सकेको थिएन । प्रहरीका अनुसार बोर्ड तोडमोड घटनामा संलग्न सबै फरार भएका थिए । प्रहरीले निरन्तर खोजतलाश गर्दा पनि उनीहरुलाई भेटाउन सकेको थिएन । बिहीबार बिहान उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
























